अनुज खड्का
बैशाख ०४, काठमान्डौ
नेकपा एमालेका मुख्य सचेतक एबम खोटाङ जिल्लाका प्रतिनिधि सभा सदस्य माननिय विशाल भट्टराईले आफ्नो पार्टी शक्तीशाली भएकैले अहिले चौतर्फी घेराबन्दीमा परेको बताउनुभएको छ । एमालेको खोटाङ काठमान्डौ सम्पर्क मन्चले काठमान्डौमा आयोजना गरेको नयाँवर्ष २०७८ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताउनुभएको हो । उहाँका अनुसार एमालेका बिरुद्ध सबै दल एकठाउमा आउन बाकी नै छ । तर एमालेलाई भने त्यसले खास्सै फरक नपर्ने उहाँको भनाई छ ।
केपी ओलीको सरकारले सुरु गरेका कतिपय सकारात्मक कामहरू सफल भएमा आफ्नो लोकप्रीयता घट्ने भयले सरकारलाई असफल ठहर्याउन सबै राजनितिक दल कम्मर कसेर लागेको भट्टराईले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो “समयक्रमसङ्गै देशका सबै दल नेकपा एमालेको बिरुद्ध एकठाउमा भेला हुन बाकी नै छ । हेर्दै जानुहोला, हामी विरुद्ध अझै घेराबन्दी हुन्छ । तर यसले एमालेलाई खास्सै असर गर्दैन । जहिल्यै पनि शक्तीशालीका बिरुद्ध कमजोरहरू एकजुट हुन्छन- हामीलाई थाहा छ ।”
केपी ओली सरकारले देशभर एकसाथ बिकासको बिगुल बजाएकोमा अन्य राजनितिक दलहरू रन्थनिएको भट्टराईको भनाई छ । एकैसाथ १६५ सडक, ३९६ अस्पतालको काम अगाडि सारेको भएर नै यो सरकारको बिरोध र आलोचना गर्न अन्य दलका प्रायोजित मानिसहरू लागि परेको उहाँले बताउनुभयो ।
हिजोको जस्तो पैसाकै भरमा जागिर खान चाहनेहरूले यो सरकारले विधि र पद्धतिमा अडिक रहेर स्वच्छ प्रतिस्पर्धाका आधारमा नियुक्ती दिएकाले बिरोधमा उत्रीएको पनि भट्टराईले स्पष्ट पार्नुभयो । त्यस्तै हिजोका सरकारले बेवास्ता गरेका सडकका बेबारिसे ब्यबस्थापनमा यो सरकारले कदम चालेकैले पनि सरकारको खेदो खनिरहेको भन्दै उहाँले व्यंग्य समेत गर्नुभएको छ ।
देशमा परिवर्तन नचाहने प्रतिगामी झुण्डसङ्ग एमालेले एक्लै लड्ने र असल मानिसहरूद्वारा नेकपा एमालेलाई पुनःनिर्माण गरि देशको भबिष्य सुन्दर बनाउने अभियानमा आफूहरू रहेको भट्टराईको धारणा छ ।
मन्चद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा विशाल भट्टराई, बिशिस्ट अतिथिका रुपमा प्रदेश १ कि सामाजिक बिकासमन्त्री उषाकला राई, नेकपा एमाले खोटाङका अध्यक्ष राम दङ्गाल लगायतको उपस्थिती रहेको थियो ।