३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

हलेसी फनपार्क निर्माणको औचित्य, आयोजनाको बिस्तृत बिबरण



खोटाङ । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ मा रहेको हलेसी महादेवको मन्दिर नेपालको प्रसिद्ध धार्मिक तिर्थस्थलहरू मध्य एउटा अति नै महत्वपुर्ण गन्तव्य हो । सम्भवत: हिन्दु, किराँत र बौद्ध धर्म मान्ने सबैको आस्थाको केन्द्रका रुपमा रहेको यो देबस्थल बिश्वकै नमुना धार्मिक पर्यटकिय स्थल अन्तरगत पर्दछ । यहाँ किराँत धर्म सम्प्रदायका मानिसहरूको पनि मौलिकता र आस्था रहेको छ/ हिन्दु धर्म सम्प्रदायका मानिसले पनि यसलाई पुर्वको पशुपतीका रुपमा पुजा आरधना गर्दै आएकाछन भने गुरु पद्मसम्भवले यहाँ ध्यान तमस्या गरेर सिद्धि प्राप्त गरेको बौद्ध जनबिस्वास रहेको छ । त्यसैले पनि यस क्षेत्रको धार्मिक पर्यटनका निम्ति दैनिक हजारौ पर्यटक देश तथा बिदेशदेखि हलेसी आउने गरेका छन । तीनै पर्यटकलाई लक्षित गरेर हलेसी फनपार्क निर्माण हुन लागेको हो ।

कुल ५ करोडको लागतमा बन्ने उक्त फनपार्कको शिलान्यास प्रदेश १ का मुख्यमन्त्री माननीय शेरधन राइले गरिसकेका छन । प्रदेश १ को मुख्य पर्यटकिय क्षेत्र अन्तरगत पर्ने हलेसीमा बन्न लागेको फनपार्क समयमै सम्पन्न होस भनी मुख्यमन्त्री राईले शुभकामना समेत दिएका छन । पर्यटन पुर्वाधार बिकासको क्षेत्रमा युवाहरूको सकृयतालाई लिएर प्रदेश सरकार सकारात्मक रहेको उनले बताएका छन ।

हालसम्म हलेसी क्षेत्रमा पर्यटन एबम मनोरन्जनका लागि मन्दिर र रकगार्डेन त्यस्तो कुनै उपयुक्त बिकल्प नरहेकाले अब बन्ने फनपार्क पर्यटकका लागि एउटा आकर्षणको केन्द्र बन्ने हलेसी तुवाचुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाले पर्यटन गन्तब्यको बिकासमा काम गरिरहेको भएपनी निजि क्षेत्रबाट समेत यस क्षेत्रमा पहल हुनु अत्यन्तै स्वागतयोग्य भएको नगरपालिकाले जनाएको हो । नगरप्रमुख इबन राईका अनुसार यस फनपार्क निर्माणका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने देखि लिएर अन्य प्राबिधिक सहयोगका लागि नगरपालिका तत्पर रहेको छ । नगरप्रमुख राईले भने “यस फनपार्कले नगरपालिकाको पर्यटन प्रबर्धनमा निक्कै महत्वपूर्ण भुमिका निर्वाह गर्नेहुदा हामी नगरपालिकाको तर्फबाट सबैखाले सहयोग गर्न तयार छौ ।”

फनपार्क शिलान्यास कार्यक्रम पश्चात् खोटाङ जिल्लाका प्रतिनिधि सभाका सदस्य माननीय विशाल भट्टराईले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । त्यसका लागि संघिय सरकारका तर्फबाट हुनसक्ने सबैखाले सहयोग गर्ने नेकपा एमालेका मुख्य सचेतक समेत रहेका भट्टराईले बताए ।

हलेसी मन्दिरबाट करिब आधा किलोमिटरको दुरीमा बन्ने यस फनपार्कमा जंगल रिसोर्ट देखि लिएर चिडियाखानासम्म निर्माण गर्ने लक्ष्य रहेको छ । शान्त, सुन्दर एबम मनोरम वातावरणमा आकर्षक फलफूलको बगैँचा, पुराना टायरहरूद्वारा निर्मित आकर्षक टायर गार्डेन, साधना भवन, होमस्टे, भजन मण्डली, रोधीघर, मसाज सेन्टर र बाथ हाउसहरू यस फनपार्कमा बन्ने छन । त्यसका अलावा केटाकेटीलाई खेल्नको लागि खेलमैदान, युवायुवतीलाई फोटो खिच्नका लागि सेल्फीजोन तथा फोटोग्राफी जोन, बाँसद्वारा निर्मित आकर्षक कटेजहरू, होटल तथा लजहरू, ग्रामिण क्षेत्रमा उत्पादन भएका हस्तकला एबम अन्य सबैखाले सामाग्री बिक्री गरिने अर्गानिक पसल, चिनो चौतारा र झण्डा गाड्ने डाडा यहा बन्ने भौतिक संरचनाका मुख्य आकर्षण रहनेछन ।

यहाँ आउने पर्यटकहरूलाई हलेसी महादेवको पुरातात्त्विक महत्व एबम धार्मिक मान्यताको सम्पुर्ण किम्बदन्तीहरु सुनाउनका लागि हलेसी महिमा कार्यक्रम प्रत्यक साझ संचालन गरिनेछ । धार्मिक दृष्टिकोणबाट हलेसीको महत्वका बिषयमा जानकारहरूबाट हलेसीको सम्पुर्ण जानकारी प्रदान गरिने हुदा यो पर्यटकहरूका लागि अर्को एउटा महत्वपुर्ण स्थान हुने निर्माण पक्षको दाबी छ ।

करिब १० रोपनी क्षेत्रफलमा फनपार्क निर्माण हुनेछ । त्यहा अन्य एड्भेन्चर अर्थात साहसिक खेलहरूको समेत ब्यबस्था गरिने भएको छ । रुखको टुप्पोमा बनेका कटेजहरू, रुखमा झुण्डिएको चराको आकृतिका टहराहरू, ढुंगाको आकर्षक मुर्तीहरू, बियरको खाली बोतलले बनेका घरहरू यहाको थप आकर्षण हुनेछन ।

त्यो बाहेक प्रत्यक हप्ता राष्ट्रिय कलाकारहरूको सहभागितामा हुने सास्कृतिक कार्यक्रम पर्यटकलाई आकर्षण गर्ने अर्को माध्यम रहेको छ । बाहिरबाट आउनेलाई मात्र हैन, खोटाङका स्थानियलाई पनि मनोरन्जनका लागि यो फनपार्क अत्यन्तै उपयुक्त ठहरिनेछ ।

अहिले फनपार्कको डिपिआर अन्तिम चरणमा रहेको छ । डिपिआर आउने बित्तिकै काम सुरु हुने भएको छ । काम सुरु भएको मितिले करिव ३ बर्षको अवधीमा सम्पन्न हुने जनाईएको छ । तर पार्क भने निर्माण आरम्भ भएको १ बर्षभित्रै संचालन गरिने निर्माण पक्षको भनाई छ ।

फनपार्क निर्माणको निम्ति अहिले ४ जना युवाहरूको टिम बनेको छ । यो टिम १० देखि १५ जनाको हुने बताईएको छ । यो टिम नै फनपार्कको मुख्य संचालक रहनेछन । यदि काम गर्दै जादा बजेट अपुग भएको खण्डमा स्थानिय वा अन्य लगानीकर्तालाई शेयरको सुबिधा दिने पनि जनाईएको छ । यो फनपार्क बनिसकेपछी हलेसी तुवाचुङ नगरपालिकासङ्गै सिङ्गो खोटाङ जिल्लाको एउटा अत्यन्तै आकर्षक पर्यटक गन्तब्य बन्नेछ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १० : ०१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.