अनुज खड्का
चैत्र २२, सोलुखुम्बु
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ५ बर्ष टिक्ने स्थायी सरकार भएमा १५ बर्षभित्र नया नेपाल बनाउन सकिने बताउनुभएको छ । समृद्ध हलेसी तुवाचुङ निर्माणका लागि जनताका बिचमा मुख्यमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो । यो समय अलमल्ल पर्ने नभएर देश बिकास गर्ने समय भएकाले ढुक्क भएर नेकपा एमाले माथी बिस्वास राख्न उहाँले आग्रह गर्नुभयो ।
नेकपा एमाले हलेसी तुवाचुङ नगर कमिटिको आयोजनामा हलेसी मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा उहाँले हलेसीको समग्र बिकासको लागि प्रदेश सरकार तत्पर रहेको जिकिर गर्नुभयो । तर स्थानिय तहका प्रतिनिधिहरूलाई हलेसी क्षेत्रको बिकासको निम्ति छलफल गर्न प्रदेश सरकारले ताकेता गर्दा समेत सुनुवाई नभएको मुख्यमन्त्री राईको भनाई छ ।
हलेसी प्रदेश १ कै प्रमुख धार्मिक पर्यटकिय क्षेत्र भएकाले प्रदेश सरकारले यसको समग्र बिकासमा विभिन्न योजना बनाई काम गरिरहेको र थप गर्ने समेत उहाँले बताउनुभयो । खोटाङ जिल्लाको लागि आफूले उपहारका रुपमा सामाजिक बिकास मन्त्री सुम्पिएको पनि राईको भनाई छ ।
त्यस्तै फरक प्रसङ्गमा बोल्दै मुख्यमन्त्री राईले हुदाखादाको बहुमतको शक्तिशाली सरकार ढलाउने षड्यन्त्र गर्ने, विभिन्न तिक्डम मार्फत देशको सबैभन्दा ठूलो पार्टीलाई चिराचिरा पार्ने अराजक खेल राजनितिमा देखिएकाले भ्रमित नहुन समेत आम नागरिकलाई आग्रह गर्नुभएको छ । माधब कुमार नेपाल समुहको समानान्तर समितिलाई लक्षित गर्दै मुख्यमन्त्री राईले एमालेको एउटै मात्र बिकल्प केपी शर्मा ओली नेतृत्वको एमाले मात्रै भएको स्पष्ट पार्नुभयो । त्यसैले जालझेलको राजनिती नगर्न नेपाल समुहलाई उहाँको चेतावनी रहेको छ ।