८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

प्रदेश १ कै नमुना बाख्रा फार्म हलेसीमा, संचालक राई भन्छन स्वदेशमै केहि गर्छु



अनुज खड्का
चैत्र ०४, खोटाङ

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ७ गैरीगुठमा प्रदेश नम्वर १ कै नमुना बाख्रा फार्म संचालन हुने भएको छ । गैरिगुठका स्थानिय पदम कुमार राईले प्रदेश १ कै नमुना बाख्रा फार्म संचालन गर्न लागेका हुन ।

२ पटकसम्म बैदेशिक रोजगारीमा गएर फर्किएका राईले अब भने स्वदेशमै केही गर्ने उदेश्यका साथ नमुना बाख्रा फार्म संचालन गर्न लागेको बताएका छन । उनी भन्छन “अर्काको देशमा गएर धेरै दु:ख गरियो, अब आफ्नै देशमा केही गर्नेछु ।”                                                                       राईले निजि पुर्ख्यौली जमिनमा नमुना बाख्रा फार्म संचालन गरि देशका बेरोजगार युवालाई स्वरोजगारको बाटो देखाउन तम्सिएका छन । जसको लागि अहिले उनी बाख्राको आधुनिक खोर निर्माणमा ब्यस्त रहेकाछन ।

उक्त खोर अत्याधुनिक तरिकाबाट निर्माण गरिरहेका राईले बोयर, जमुनापारी, खरी, सिरोहि र बारबरी जातका उन्नत बाख्रा पाल्ने लक्ष्य लिएका छन । उनको लक्ष्य अनुसार हाल २ सय बाख्राबाट सुरु गरि भबिष्यमा २ हजारसम्म बाख्रा पाल्ने बताएका छन ।

पर्याप्त चरिचरणको ब्यबस्था भएको हुदा बाख्राको लागि राम्रो सम्भावना देखेको उनी बताउछन । उनले अहिलेपनी ३०/३५ वटा बाख्रा परम्परागत तरिकाले घरैमा पालिरहेका छन ।

अब बन्ने खोर भने अत्याधुनिक तरिकाले निर्माण गरिरहेको संचालक राईले जानकारी दिएका छन । जसमा माउपाठा राख्ने ठाउ, ब्याउने बाख्रा राख्ने ठाउँ, ब्याड बोका राख्ने ठाउँ, खसी राख्ने ठाउँ फरक-फरक बनाईएको राईले जनाएका हुन । बाख्रालाई खाने, खेल्ने र बस्ने ठाउको अत्यन्तै सुबिधाजनक तरिकाले खोर निर्माण पनि उनको भनाई छ ।

नेपालमा कृषि बाहेक अन्य बिकल्प नभएकाले प्रत्यक युवाले ब्यबसायिक ढंगबाट सोच्ने समय आएको उनको बुझाई रहेको छ । “हाम्रो देश अत्यन्तै सम्भावनाले भरिपुर्ण देश हो । यहाँ जे गरेपनी सम्भब छ । तर त्यो अलि ठूलो हुनुपर्यो । ठूलो सोच राखेर सुरु गरिएको सानै कामले पनि उच्च प्रतिफल दिन्छ । त्यसैले प्रत्यक युवाले अब रोजगार हैन स्वरोजगार बन्न आवस्यक छ ।” राइले बताए । उनले थपे “मैले अरबको मरुभुमीमा समेत पसिना बगाएर आएको हुदा, अब आफ्नै देशमा केही गर्ने सोच छ । त्यहा गरेजती दु:ख यहि गरियो भने आफ्नै देशमा मनग्य प्रगती गर्न सकिन्छ ।”

देशको राजनितिक हालात देखेर बिरक्तिएका राई अब भने आफैले केही गर्नुपर्छ भनेर कम्मर कसेका हुन । नेपालका हरेक युवालाई राजनितिक पार्टीहरूले उपभोग मात्र गर्ने गरेको तर युवाको ब्यबस्थापन गर्न भने ती राजनितिक दल र सरकार सफल भएको उनको गुनासो छ । त्यसैले पनि उनले हरेक युवालाई पार्टीको पछि लाग्न छोडेर अर्थ उपार्जनमुलक कार्यमा लाग्न आग्रह गरेका छन । जसको सुरुवात उनी आफैबाट गर्न लागेका हुन ।

उनले भने “युवाले यो पार्टी र त्यो पार्टी भनेर कुद्ने समय केही आम्दानीमुलक कार्यमा खर्च गर्यो भने देश स्वतह समृद्ध बन्नेछ । यी राजनितिक पार्टीहरू भनेको जुन जोगी आएपनी कानै चिरेको जस्तो हुन । त्यसैले अब देशका हरेक युवा उत्पादनसङ्ग जोडिएर देशको आर्थिक भार र बैदेशिक आयातलाई घटाउन उद्दत हुनुपर्छ ।”

उनले नमुना बाख्रा फार्म मार्फत बाख्रा उत्पादन मात्र गर्न खोजेका छैनन, बरु अन्य युवालाइ पनि उत्पादनसङ्ग जोडिन प्रेरित गरिरहेका छन । त्यसका अलावा नेपाल कृषि पर्यटनको सम्भावनालाई समेत उनले मध्यनजर गर्दै काम गरिरहेका छन ।

कुनैपनी काम नमुनाका रुपमा गर्न सकियो भने त्यसले मानिसलाई आकर्षण गर्ने उनको भनाई छ । त्यसैले आफ्नो उदेश्य केवल बाख्रा पाल्ने मात्र नभएर अरुलाई पनि बाख्रा पाल्न प्रेरित गर्ने र हलेसीलाई एउटा धार्मिक मात्र होईन कृषि पर्यटनको क्षेत्रका रुपमा समेत बिकास गर्ने रहेको राईले बताएका छन ।

यसमा स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारको सकारात्मक साथ भए आफू सफल हुने राईले स्पष्ट पारेका छन । उनका अनुसार ब्यक्ती सफल वा असफल हुन पनि राज्यको भूमिका प्रमुख रहने हुदा राज्यबाट सकारात्मक साथ र सहयोग पाए जो कोहि सफल हुनेछ । देशका नागरिक सफल हुनु भनेको देशको सरकार सफल हुनु भएको उनको बुझाई छ ।

 

 

 

 

 

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ७ : ५८ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.