अनुज खड्का
फागुन २७, खोटाङ
आज महाशिवरात्री पर्व देशभरका शिवालयमा दर्शनार्थीको घुईचो लागेको छ । देशका प्रमुख शिवालयहरू पशुपति र पूर्वको पशुपतिको नामले परिचित खोटाङको हलेसी लगायत देशका महत्वपुर्ण शिवालयमा भक्तजनहरूको घुइचो लागेको हो ।
हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू बौद्ध एवंम किराँत तीर्थस्थल हो । यो स्थान सगरमाथा अञ्चलको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल देखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका को केन्द्र दुर्छिम छापडाँडाबाट पूर्व नगरपालिकाको वडा नं ७ महादेवस्थानमा पर्छ ।
हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ । ‘हलेसी गुफा’को प्राकृतिक भू-बनोटको संरचना समेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीले आदिम भूमि ठान्छन ।
हिन्दू, बौद्द र किराँत धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, तुवाचुङ जायजुम, मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्त्वपूर्ण गुफा छन ।
हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ । महादेवलाई भस्मासुर राक्षसबाट बचाउन मोहनी रूप धारण गरी भगवान विष्णु कैलाशबाट यस ठाउँमा आएको शास्त्रीय मान्यता छ । मोहनीले राक्षसलाई झुक्याएर भष्म गरिदिएकी थीन्, जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ । त्यसैले यस लाई भष्मासुर गुफा पनि भनिन्छ ।
यहाँ राम नवमी, बाला चतुर्दशी, शिवरात्री र तीज गरी वर्षमा चारपटक ठूला मेला लाग्ने गरेको छ । हलेसीमा विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक आउने गर्छन । हलेसी महादेवको पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ।
महाशिवरात्रीको महत्व र धार्मिक अर्थ के छ ?
महाशिवरात्री हिन्दुको एक विशेष पर्व हो । हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ । शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन । कतिपय रातभर उपवास गर्छन । शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास चढाउँछ । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना गर्छन र असल पतिको कामना गर्छन । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन ।
धार्मिक मान्यता के छ भने, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान शिवले तान्डव नाच्दै ब्रम्हान्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेका गरेका थिए । यसैले यस दिनलाई महाशिवरात्री वा कलरात्रि भनिन्छ ।
शिवरात्रीसँग केही पौराणिक कथा पनि जोडिएको छ ।
भगवान शिवको विवाह:
भनिन्छ, यस दिन भगवान शिवको विवाह भएको थियो । तीन लोकमध्येकै अपार सुन्दरी तथा शीलवती गौरालाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिचाशले घेरिएर रहेका हुन्थे । उनको रुप एकदम अजीब थियो । शरीरमा मसानको भस्म, गलामा सर्पको हार, कन्ठमा विष, जटामा जगत-तारिणी पावन गंगा तथा माथमा प्रलयंकार ज्वाला छ ।
समुद्र मन्थनको पौराणिक कथा:
सबै पौराणिक कथामा नीलकन्ठको कथा सबैभन्दा चर्चित छ । मान्यता के छ भने महाशिवरात्रीको दिन नै समुन्द्र मन्थन गरिरहँदा कालकेतु विष निकालिएको थियो । भगवान शिवले सम्पूर्ण ब्रम्हान्डको रक्षाका लागि स्वयम्ले ति सबै विष पिएका थिए । त्यही क्रममा उनको कन्ठ वा गला नीलो भएको थियो । त्यसैले भगवान शिवलाई नीलकण्ड पनि भनिन्छ ।
भगवान शिवको प्रिय दिन:
शिवरात्री त्यो रात्रि हो, जसमा शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ । भगवान शिवको अतिप्रियरात्रिलाई शिवरात्री भनिन्छ । शिव पुराणको ईशान संहितामा बताएको छ कि, फागुन कृष्ण चतुर्दशीको रात्रिमा आदिदेव भगवान शिव करोडौं सूर्य समान प्रभाव भएको लिंगको रुपमा प्रकट भएका थिए । यस्तो मानिन्छ कि, महाशिवरात्रीमा भगवान मानवजातिको एकदम निकट आएका थिए । मध्यरात्रिको समय ईश्वर मनुष्यको सबैभन्दा बढी निकट हुन्छ । यही कारण मानिसहरु शिवरात्रीका दिन रातभर जग्राम बस्छन ।
शिवलिंग पूजा सामाग्री:
भगवान शिवको पूजामा अरु विशेष सामग्रीको आवश्यक्ता पर्दैन, केवल पानी र बेलपत्र भए पुग्छ ।
कल्पवृक्षको समान शिव आरधाना:
शिवरात्रीको दिन शिव आराधनाको विशेष महत्व छ । शिवजीको आराधनामा जति महत्व अभिषेकको हुन्छ, उत्तिनै महत्व महामृत्युंजय मन्त्रको पनि । शिवजीको आराधना महामृत्यंजय मन्त्र बिना अपूर्ण हुने धार्मिक मान्यता छ ।