नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नयाँ राजनीतिक घटनाक्रमको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने भएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले यो निर्णय गरेको हो ।
‘संसद सञ्चालन, सरकार निर्माणको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय भएको छ’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।
श्रेष्ठले एमालेसँग पनि यो विषयमा छलफल हुने तर प्राथमिकतामा कांग्रेस र जसपा रहेको प्रष्ट पारे । ‘हामी एमालेसँग पनि वार्ता गर्छौँ’, पत्रकारको प्रश्नको जवाफ दिँदै श्रेष्ठले थपे ।
माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठका अनुसार स्थायी समिति बैठकले फागुन २९ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णयसमेत गरेको छ । बैठकले चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णयसमेत गरेको छ ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बसेको हो। बैठकमा आगामी राजनीतिक परिस्थित र सत्ता समीकरणबारे छलफल भएको हो ।
सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र आ-आफ्नो कित्तामा लागेका छन् । सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको थियो। यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् रूपमा फर्काएको हो।
नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय बदरपश्चात् साविकमा आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग-अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने सर्वोच्चको आदेशमा उल्लेख छ ।
सर्वोच्चको आदेशपछि माधवकुमार नेपालको समूह प्रचण्डलाई छोडेर एमालेतर्फ फर्किए पनि प्रतिनिधिसभा विघटनपछि प्रचण्डलाई छोडेर ओलीतिर लागेका माओवादी केन्द्रका नेता भने बैठकमा सहभागी भएनन् ।
गृहमन्त्री रामबहादुर थापा लगायतका नेता मंगबारको बैठकमा सहभागी नभएका हुन् । पुस ५ गते प्रधानमन्त्री केपीओलीले प्रतिनिधिसभा विघटन गरेपछि सहरी विकासमन्त्री प्रभु शाह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा तामाङलगायत नेता ओली समूहमा गएका हुन् ।
प्रचण्ड समूहले कारबाही गरे पनि ओलीको साथ नछोड्ने उनीहरुले बताइसकेका छन् । राजनीतिक रूपमा ओलीतिर लागेकाले पद गए पनि माओवादी केन्द्रमा नफर्किने बताएको स्रोतले जनाएको छ। नेकपा एमालेतर्फ गएका नेतामाथि कारबाहीको विषयमा भने बैठकले कुनै निर्णय गरेको छैन ।