६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

मा‌ओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा



नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ। पार्टी कार्यलय पेरिसडाँडामा बैठक सुरु भएको माओवादी केन्द्रले जनाएको छ। केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न माओवादी केन्द्रको बैठक बसेको हो। बैठकमा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य सहभागी छन्।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बसेको हो। बैठकमा आगामी राजनीतिक परिस्थित र सत्ता समीकरणबारे छलफल हुने जनाइएको छ।

सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र आ-आफ्नो कित्तामा लागेका छन् । सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको थियो। यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् रूपमा फर्काएको हो।

नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय बदरपश्चात् साविकमा आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग-अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने सर्वोच्चको आदेशमा उल्लेख छ ।

सर्वोच्चको आदेशपछि माधवकुमार नेपालको समूह प्रचण्डलाई छोडेर एमालेतर्फ फर्किए प्रतिनिधिसभा विघटनपछि प्रचण्डलाई छोडेर ओलीतिर लागेका माओवादी केन्द्रका नेता भने बैठकमा सहभागी छैनन् ।

गृहमन्त्री रामबहादुर थापा लगायतका नेता  मंगबारको बैठकमा सहभागी भएनन् । पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सहरी विकासमन्त्री प्रभु शाह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा तामाङलगायत नेता ओली समूहमा गएका हुन् । प्रचण्ड समूहले कारबाही गरे पनि ओलीको साथ नछोड्ने उनीहरुले बताइसकेका छन् । राजनीतिक रूपमा ओलीतिर लागेकाले पद गए पनि माओवादी केन्द्रमा नफर्किने बताएको स्रोतले जनाएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ३ : २८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.