६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

हलेसी तुवाचुङ नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्यो



अनुज खड्का
फागुन ७ खोटााङ

देशभर प्रधानमन्त्री रोजगार कार्यक्रमको आलोचना भईरहेको समयमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा भने यो कार्यक्रम अत्यन्तै प्राभावकारी देखिएको छ । नगरपालिकाले प्राप्त बजेटलाई उपयोगितामुलक कार्यमा लगानी गरेका कारण कार्यक्रम प्रभावकारी बनेको हो ।

कुल ११ वडा रहेको नगरपालिकामा आवस्यकताका आधारमा प्रत्यक वडामा फरक फरक कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट खर्च गरिएको छ । जसमध्य आर्थिक वर्ष २०७५/७६ मा प्राप्त ३३ लाख बजेटबाट ग्रामिण सडकमा पानी निकासीको लागि ड्रेन खन्ने काम गरिएको थियो । जसबापत नगरपालिकाका १६० जनाले २३ दिनको रोजगारी पाएको नगरपालिकाले जनाएको छ ।

त्यसपछी आर्थिक वर्ष २०७६/७७ मा प्राप्त ४२ लाख बजेटबाट ३० दिनसम्म २०० जनाले रोजगारी पाएका थिए भने उक्त बजेटबाट सबै वडाका ग्रामिण सडकमा पहिरोको जोखिम न्युनिकरण गर्न ग्याबिन जाली उठाउने काम सम्पन्न भएको थियो । आर्थिक वर्ष २०७५/७६ र ७६/७७ मा जनही दैनिक ६५० का दरले रोजगारी पाएका ३६० जना यो कार्यक्रमबाट लाभान्वित भएका थिए भने उक्त बजेटबाट सम्पन्न भएको कामले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सबै नगरबासी लाभान्वित भएको नगरपालिकाको ठम्याई रहेको छ ।

सडकमा ड्रेन निर्माण गर्ने काम सोचेजती प्रभाबकारी नभएपनी त्यसपछी भएका कामहरू अत्यन्तै प्रभावकारी रहेको नगरप्रमुख ईबन राई बताउनुहुन्छ । उहाँका अनुसार ड्रेनमा लगानी गरेको वजेट भने सोचेजस्तै उपयोगी बन्न नसकेको हो । बर्षातका कारण निर्माण गरिएको ड्रेन भत्किएकाले उक्त कार्यक्रम त्यती उपयोगी नभएको बताईएको छ । त्यसै कारण दोस्रो आर्थिक वर्षमा सडक भत्किन नदिनका लागि ग्याबिन जाली उठाउने काम गरिएको नगरप्रमुख राईले बताउनुभयो ।

आर्थिक बर्ष २०७६/७७ को काम प्रभावकारी साबित भएपछी चालु आर्थिक बर्षमा पनि त्यस्तै कार्यक्रम बनाएर प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटलाई उपयोगमा ल्याईएको यस कार्यक्रमकी संयोजक शान्ता अधिकारीले भूमे संचारलाई बताउनुभयो ।

चालु आर्थिक बर्षमा प्राप्त कुल १ करोड ४८ लाख ३८ हजार बजेटबाट सम्पुर्ण वडामा दिर्घकालिन बिकासको कार्यक्रम संचालन भईरहेको छ । जसमध्य वडा नम्बर १ मा राङ्गाकाटे वडा कार्यालय झापा कुर्ले सडक मर्मत योजना, वडा नम्बर २ मा बाईटार मुरिलडाडा ग्रामिण सडक योजना र वडा नम्बर ३ मा पिपलटार भाग्रा बालङमारी सडक मर्मत योजना रहेको छ । त्यस्तै अन्य कार्यक्रमको बिबरण तालिकामा रहेको छ ।

चालू आर्थिक बर्षमा २८६ जनाले १०० दिनसम्म रोजगार पाउने संयोजक अधिकारीले बताउनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षबाट दैनिक ज्यालामा फेरबदल भएको छ । अघिल्ला २ आर्थिक बर्षमा दैनिक ६५० ज्याला दिईएकोमा यस आर्थिक बर्षमा भने ५१७ निर्धारण गरिएको छ । यो फेरबदल नगरपालिकाले नभई माथीबाटै गरिएको जनाईएको छ ।

नगरपालिकाले अत्यन्तै सचेतताका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट खर्च गरेकाले यो कार्यक्रम प्रभावकारी बनेको बताईएको छ । धेरै स्थानिय तहहरूले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट के मा कसरी खर्च गर्ने भन्ने निर्क्योल गर्न नसक्दा फ्रीज भएर बसेको छ । कतिपय स्थानिय तहमा भने झार उखेलेर बजेट सक्ने काम समेत भएको पाईएको छ । तर हलेसी तुवाचुङ नगरपालिकाले भने उक्त कार्यक्रमको वजेटलाई शतप्रतिशत उपयोगमा ल्याउन सफल भएको हो । जसले नगरपालिकाको थप बिकास र समृद्धिमा टेवा पुगेको नगरप्रमुख ईवन राईको भनाई छ ।

हालसम्म प्राप्त बजेटबाट नगरपालिकाले आवस्यकता र औचित्यका आधारमा प्रत्यक वडामा समान रुपले कार्यक्रम बाडफाड गर्दै आएको छ । जसमध्य कुनै वडामा सडक मर्मत, कुनै वडामा सडक निर्माण त कतै सिचाई ब्यबस्थापन कार्यक्रम रहेको छ ।                                                                                                                                                                    यस कार्यक्रमबाट चालू आर्थिक बर्षसम्ममा ६४६ जनाले रोजगार पाएका हुनेछन । जसको कुल बजेट २ करोड २३ लाख ३८ हजार रहने छ भने यसले नगरपालिकाका थुप्रै ग्रामिण सडकहरु बिस्तार र मर्मत हुनेछन । केही वडामा सिचाईको दिगो ब्यबस्थापन हुनेछ । सडक सोलिङ, गोरेटोबाटो निर्माण तथा मर्मत, सिचाई योजनामा प्राप्त बजेट लगानी गरिएको छ ।  यस हिसाबले पनि प्रधानमन्त्री रोजगार कार्यक्रम हलेसी तुवाचुङ नगरपालिकामा प्रभावकारी साबित भएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ३ : १७ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.