अनुज खड्का फागुन ०४, सोलुखुम्बु नेकपा सोलुखुम्बुका जिल्ला कमिटि सदस्य मुक्ती बास्तोलाले बामदेब गौतमद्वारा संचालित नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रिय सदस्य पद बहिष्कार गर्नुभएको छ । आफूलाई कुनै जानकारी नै नदिकन अभियानको केन्द्रिय सदस्यमा नाम निष्काशन गरेपछि बास्तोलाले आपत्ती जनाउनुभएको हो ।
बास्तोलाले एक बक्तव्य जारी गर्दै अभियानको केन्द्रिय सदस्यमा आफ्नो नाम देख्दा आफू आश्चर्यचकित भएको बताउनुभएको छ । यसका साथसाथै उहाले अहिलेको आवस्यकता भनेको घोषित निर्वाचनमा केन्द्रित भएर, तोकिएकै अवधीमा चुनाब सम्पन्न गराई निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने भएको पनि स्पष्ट पार्नुभयो । उहाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संसद बिगठनलाई प्रतिगमनको हौवा दिएर सडकमा रमिता देखाउने प्रचण्ड-नेपाल समुह र नेकपा एकता राष्ट्रिय अभियान भन्दै हिडेका गौतम समुहमा सहभागी हुनु भनेको नै देशलाई अस्थिरता तर्फ लैजाने कार्य हो । त्यसैले आफू ओली समुहको नेकपाको मुलधारमा कृयाशिल रहदै आएको र भोलीका दिनमा समेत रहिरहने उहाको निष्कर्ष रहेको छ ।
बामदेव गौतम संयोजक रहेको नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रिय समन्वय समिति र केन्द्रिय कार्य सम्पादन समितिमा सोलुखुम्बुका ४ जना छनोट भएका छन । उक्त ४ सदस्यमा बास्तोला बाहेक भद्रगोल किराती, आरपी लामा र आङ्दामी शेर्पाको नाम सार्वजनिक भएको छ । जसमध्य बास्तोलाले भने उक्त पद बहिष्कार गर्नुभएको हो ।