अनुज खड्का फागून ०२, सोलुखुम्बु सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखिम पर्यटकिय हबका रुपमा बिकास हुने भएको छ । सुकेपोखरी पर्यटकिय क्षेत्र प्रबर्द्धनका निम्ति संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले २ करोड ८० लाख बिनियोजन गरेपछी लोखिम पनि पर्यटकिय हबका रुपमा बिकास हुने भएको हो ।
पछिल्लो समय सोलुखुम्बुको विभिन्न ठाउमा रहेका प्राकृतिक पोखरीहरू पानी सुकेर मैदान बनिरहेको अवस्थामा लोखिममा रहेको सुकेपोखरीलाई संरक्षण गर्ने उदेश्यले गाउँपालिकाद्वारा उक्त कार्यक्रमको प्रस्ताब लगिएको हो । उक्त प्रस्ताबमा सुकेपोखरीको संरक्षण र पर्यटन प्रबर्द्धनका निम्ति सिफारिस गरिएको थियो । सोही प्रस्ताबलाई कार्यान्वयन गर्न मन्त्रालयले २ करोड ८० लाख बिनियोजन गरेको छ ।
गाउँपालिकाको वडा नं ४, ५ र ९ को सङ्गममा अवस्थित ऐतिहासिक , साँस्कृतिक, पुरातात्त्विक तथा रमणीय क्षेत्र सुकेपोखरीलाई ब्यबस्थित पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको हो । हाल मन्त्रालयबाट २ करोड ८० लाख बिनियोजन भएपनि आवश्यकता अनुसार बजेट थप हुनेछ । तत्कालीन पर्यटन मन्त्री योगेस भट्टराई, सोलुखुम्बु जिल्लाका निवर्तमान प्रतिनिधिसभा सदस्य माननीय हेम कुमार राई सुरबिर, मन्त्रालयका सचिब, प्रधानमन्त्रीका पुर्व प्रेस संयोजक चेतन अधिकारी, वसन्त बन र पर्यटनमन्त्रीका निजि सचिव कमल भट्टराई लगायतको सहयोगमा उक्त कार्यक्रम ल्याउन सफल भएको भन्दै गाउँपालिकाका अध्यक्ष असिम राईले सबैलाई धन्यवाद समेत दिनुभएको छ । थुलुङ दुधकोशी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सबै स्रोतसाधनको उच्चतम उपयोग गर्दै समृद्धि हासिल गर्ने लक्ष्यका साथ काम गरिरहेको अध्यक्ष राईले बताउनुभयो ।