अनुज खड्का
माघ १३, सोलुखुम्बु ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ मा रहेको फुर्के पोखरीको पुनः निर्माण तथा पुनः भरण हुने भएको छ । ग्रामिण बिकास सस्थाको पहलमा पोखरीलाई पुनः प्राकृतिक अवस्थामा फर्काइने भएको हो ।
अहिले उक्त पोखरी सुकेर फुटबल चौरमा परिणत भएको छ । पहिले पहिले पानीले भरिभराउ हुने पोखरी जलवायु परिवर्तनको मार पश्चात् सुकेर चौरका रुपमा परिणत भएको हो । उक्त पोखरीको अब पुनःनिर्माण तथा पुनःभरण कार्य आरम्भ भएको छ ।
ग्रामिण बिकास सस्थाको पहल, ए.ई.आई.एन लग्जेम्बर्गको आर्थिक तथा नेचासल्यान गाउँपालिकाको प्राबिधिक सहयोगमा पोखरीलाई पहिलेकै अवस्थामा फर्काइने भएको हो । जसको शिल्यान्यास गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोलाले गर्नुभएको छ ।
पोखरी पुनः निर्माणका लागि फुर्के सामुदायिक गुठी सस्थाको नेतृत्वमा निर्माण उपभोक्ता समिती गठन गरिएको छ । उक्त समितिले १ बर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित काम गर्ने बताएको छ ।
पोखरी पुनःनिर्माण तथा पुनः भरणका लागि ए.ई.आई.एन लग्जेम्बर्गले २६ लाख २१ हजार ८ सय ११ रुपैयाँको आर्थिक सहयोग गरेको छ ।
ग्रामिण बिकास सस्थाले नेचासल्यान गाउँपालिकाभित्र वातावरण अनुकुलुलित ३ कार्यक्रम संचालन गरिरहेको सस्थाका जलबायु परिवर्तन अनुकुलन तथा न्युनिककरण कार्यक्रमका परियोजना प्रबन्धक भिमराज राईले बताउनुभयो । जस अन्तरगत अन्य २ कार्यक्रममा बन संरक्षण एबम ब्यबस्थापन, प्राङ्गारिक खेती बिकास तथा ब्यबस्थापन कार्यक्रम रहेका छन ।
नेचासल्यान गाउँपालिकाले वडा नम्बर ४ मा रहेको फुर्केलाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्रका रुपमा बिकास गर्ने लक्ष्यका साथ काम गरिरहेकाले स्थानियले यसमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष डुफकुमार वास्तोलाले बताउनुभएको छ । पोखरी पुनःनिर्माण तथा पुन:भरण पश्चात् पर्यटकिय संभावना समेत बढ्ने अध्यक्ष बास्तोलाको भनाई छ । यसका साथै चराचुरुङ्गी र बन्यजन्तुलाई पनि राहत हुने उहाँको भनाई छ ।