अनुज खड्का
पौष ०९, सोलुखुम्बु
नेपाल सरकारको दुरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले उपभोक्ताबाट अर्बौ रकम अबैध तरिकाले लुटिरहेको छ । सिस्टममा समस्या आएको बाहानामा गत १ साता अघिदेखी टेलिकमले उपभोक्ताबाट अबैध ब्यालेन्स काटिरहेको हो । प्रयोगकर्ताले किनेको डेटाप्याक नै सुचारु नगरिदिने र मेन ब्यालेन्सबाट धमाधम पैसा काटिदिने टेलिकमको रबैयाले उपभोक्ता आजित रहेका छन ।
यो समस्याको समाधानको लागि उपभोक्ता ग्राहक प्रतिनिधिकोमा फोन गर्दछन, तर ग्राहक प्रतिनिधिले आफू मार्फत उक्त समस्या समाधान हुन नसक्ने बताउने गरेका छन । जसले गर्दा प्रयोगकर्ताहरू आफ्नो ब्यालेन्स अनाधिकृत रुपमा काटिदा समेत चुपचाप सहिरहेका छन ।
सुचारु भएका डेटाप्याकहरू नचलिदिने र कतिपय डेटाप्याकहरू पैसा काटेर पनि सुचारु नै नहुने समस्याले गर्दा उपभोक्ता मारमा परिरहेका हुन । जसको कुनै समाधान नेपाल टेलिकमले दिन सकिरहेको छैन । ग्राहक प्रतिनिधिहरू भने काटिएको सबै पैसा फिर्ता हुने आश्वासन मात्र दिईरहेका छन ।
ब्यालेन्स काटिने मात्र समस्या होईन, खरिद गरेको डेटाप्याक समेत चलाउन नपाउने समस्याले गर्दा उपभोक्ता झन दोहोरो मारमा परिरहेका हुन । यसको समाधान काटिएको ब्यालेन्स फिर्ता गरेर मात्र हुन सक्दैन । डेटाप्याक खरिद गर्दा खर्चिएको ब्यालेन्स पनि फिर्ता गर्नुपर्ने उपभोक्ताहरूको माग रहेको छ ।