- अनुज खड्का
मङ्सिर ७, सोलुखुम्बु
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका नेपालका ७५३ स्थानिय तह मध्य नमुना स्थानिय तह बन्ने कसरतमा होमिएको गाउँपालिका हो । त्यसका लागि यस गाउँपालिकाले झट्ट सुन्दा असम्भब लाग्ने कार्यक्रमहरूको घोषणा र परिणाम दिदै आएको छ । सबैभन्दा उर्जाशिल जनप्रतिनिधी र कर्मचारी यो गाउँपालिकाको बिषेशता हो । त्यसका अलावा यहाँका नागरिकमा पनि बिकास प्रती सकारात्मक धारणा र गाउँपालिकाको योजनाहरू प्रती अपनत्व हुनु सुनमा सुगन्ध जस्तै बनेको छ ।
केही समय अगाडि मात्र यस गाउँपालिकाले एउटा ठूलो महायज्ञको आयोजना गरेर ग्रामिण स्वास्थ्यमा सुधार ल्याउने उदेश्यले २० करोड भन्दा माथीको लागतमा एउटा सामुदायिक अस्पताल बनाउने उद्घोष गरेको थियो । त्यसको काम अहिले तिब्र रुपमा अगाडि बढिरहेको छ । त्यस्तै आधुनिक खेलग्राम निर्माणको काम पनि प्रकृयागत रुपमा थालनी भईसकेको छ । कृषीमा ५ वटा “क”(किबि, कागती, करेला, केरा, कफी) को अबधारणा र पकेट जोन निर्माण गरेर गाउँपालिकाले कृषकहरूलाई आत्मनिर्भर बन्न अभिप्रेरित गरिरहेको छ ।
हामी यहाँ यी अन्य आयोजना वा योजनाहरूको चर्चा गर्न खोजिरहेका छैनौ । आज हामी गाउँपालिकाले आज मात्र समुद्घाटन गरेको दुधकोशी प्राबिधिक शिक्षालयको बिषयमा कुरा गर्न खोजिरहेका छौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज उक्त शिक्षालयको उद्घाटन गर्नुभएको हो । उद्धघाटन कार्यक्रममा बोल्नुहुदै मूख्यमन्त्री राईले प्राविधिक शिक्षा आजको आवश्यकता रहेकोले तत्कालै प्रदेश १ मा ५ वटा प्राविधिक शिक्षालय विस्तार गर्न लागिएको जनाउनुभयो । मुख्यमन्त्री राईले थुलुंग दुधकोशि गाउपालिकाले अन्य स्थानीय तहभन्दा नमुना काम गरिरहेको समेत बताउनुभयो । यस्तै, गाउँपालिका अध्यक्ष असिम राईले प्रदेश र संघीय सरकार संगको निरन्तर समन्वयमा पालिकाको चौतर्फि विकासका लागि कामसहित सच्चा स्थानीय सरकार बन्ने कसरत गरिरहेको स्पष्ट पार्नुभयो ।
आज शिक्षालय परिसरमा भएको उद्घाटन कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा योजना मन्त्री ईन्द्र आङबो, सोलुखुम्बु प्रतिनिधिसभा सदस्य हेम कुमार राई(सुरविर), नेकपा प्रदेश १ का ससंदिय दलका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारी, प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेत, जिसस अध्यक्ष विरकुमार राई लगायत विशिष्ट ब्याक्तिहरुको उपस्थिती रहेको थियो । सोलुखुम्बु जिल्लामै पहिलोपटक सिटिभिटिबाट मान्यता पाएको उक्त शिक्षालय गाउँघरमै प्राधिविधिक शिक्षा प्रदान गर्ने उदेश्यका साथ सुरु गरेको गाउँपालिकाले जनाएको छ ।
यसरी दुरगामी महत्वका कार्यहरू संचालन गर्ने थुलुङ दुधकोशी गाउँपालिका नेपालकै पहिलो गाउँपालिकाको भएको धेरैको बुझाई रहेको छ । प्राबिधिक शिक्षालय, सामुदायिक अस्पताल, शैक्षिक सुधार कार्यक्रम, एकीकृत नमुना बस्तीका एजेण्डाहरू यो गाउँपालिकाको अन्य स्थानिय तहको भन्दा फरक कार्यक्रमहरू हुन ।
भौतिक पुर्वाधान, शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा यो गाउँपालिकाले साच्चिकै नमुना काम गरिरहेको छ । त्यस्तै गाउँपालिकामा अलपत्र रहेका भौतिक संरचनाहरूको पुनः संचालनमा समेत गाउँपालिकाले ध्यान दिएको देखिन्छ । जसअन्तरगत बि.सं २०७२ साल देखि अलपत्र रहेको काङ्गेल बिमानस्थल पनि यहि महिनाबाट संचालनमा ल्याउने तयारी गाउँपालिकाको रहेको छ ।