अनुज खड्का
कार्तिक २१, सोलुखुम्बु
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउपालिका २ काङ्गेलमा रहेको अलपत्र बिमानस्थल पुनः संचालनको तयारी थालिएको छ । सोहिक्रममा आज संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले बिमानस्थलको प्रत्यक्ष अनुगमन गर्नु भएको छ । बिमानस्थलको अनुगमन गर्दै मन्त्री भट्टराईले आउदो मङ्सिरबाट नै बिमानस्थल संचालनमा ल्याउने प्रतिबद्दता जनाउनु भएको छ ।
बि.सं २०५२ सालमा निर्माण भएको बिमानस्थल ७२ साल देखि अलपत्र रहेको थियो । बिमान आउन छोडेपछी उक्त बिमानस्थल गौचरणमा परिणत भएको हो । तर आउदो मङ्सिरबाट भने पुनः बिमानस्थल संचालनमा आउने भएको छ ।
सोलुखुम्बुका निर्वाचित जनप्रतिनिधिहरूले आफू निर्वाचित भए पश्चात नै उक्त बिमानस्थल पुनः संचालनका निम्ति कसरत गरिरहेका थिए । सोलुखुम्बु प्रतिनिधिसभा सदस्य हेमकुमार राई सुरबिर, प्रदेश सांसदद्वय उत्तम कुमार बस्नेत र बुद्दिकुमार राजभण्डारी, थुलुङ दुधकोशी गाउपालिकाका अध्यक्ष असिम राई लगायतका सम्पुर्ण जनप्रतिनिधिहरूको प्रयासले बिमानस्थल पुनः संचालनमा आउन लागेको हो ।
आउदो मङ्सिरबाट हप्तामा कम्तीमा पनि १ फ्लाईट अनिवार्य संचालन हुने थुलुङ दुधकोशी गाउपालिकाका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । जनतामा गरिएको अर्को एउटा प्रतिबद्दता पुरा हुन लागेकाले आफू अत्यन्तै खुशी रहेको पनि अध्यक्ष राईले बताउनुभयो ।
यो बिमानस्थलले सोलुखुम्बुको कोशी वारी र पारीका स्थानियलाई मात्र होईन, छिमेकी जिल्ला खोटाङको ऐशेलुखर्क गाउपालिकाका स्थानियलाई समेत सहज वायुसेवा प्रदान गर्ने छ ।
काङ्गेल बिमानस्थलको अनुगमन गरेर मन्त्री भट्टराई सोलुखुम्बुको महाकुलुङ गाउपालिकामा निर्माणाधिन अर्को बिमानस्थलको अनुगमन गर्न जाने बताईएको छ ।