३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

सोलुखुम्बुमा शिक्षकलाई पार्टि प्रबेश गराएको प्रति ब्यापक आलोचना


१८ भाद्र २०७७, बिहिबार  


अनुज खड्का
भाद्र १८, सोलुखुम्बु

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउपालिका ७ देउसामा नेकपाद्वारा आयोजित कार्यक्रममा शिक्षकलाई पार्टि प्रबेश गराएको प्रति ब्यापक आलोचना भईरहेको छ । शैक्षिक सुधारका लागि बिभिन्न कार्यक्रम सार्वजनिक गर्दै आएको स्थानिय तहले नै शिक्षकलाई पार्टि प्रबेश गराएको भन्दै स्थानिय तहको नेतृत्व माथि आम सोलुखुम्बुबासीले प्रश्न उठाएका हुन ।

खासगरी प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस निकटका युवाहरूले उक्त कुराको खुलेरै बिरोध गरिरहेका छन । उनिहरूले शिक्षकले कि त राजिनाम दिएर राजनिति गर्नुपर्ने कि शिक्षण पेशामा मात्र केन्द्रित हुनुपर्ने बताईरहेका छन । सामाजिक संजालमा यसको ब्यापक बिरोध भईरहेको छ ।

कानुनमा पनि शिक्षकले आफ्नो पेशा प्रति ईमान्दार रहनका निम्ति पनि राजनितिलाई बर्जित गरिएको छ । यदि कोहि शिक्षक, शिक्षण पेशासङ्गै राजनि।तिमा पनि सहभागी हुन्छ भने उ शिक्षकको लागि उपयुक्त पात्र मानिदैन । तर थुलुङ दुधकोशी गाउपालिकाका अध्यक्ष असिम राई नै शिक्षकलाई खादामाला सहित पार्टि प्रबेश गराउदै हिडेको भन्दै युवाहरूले आपत्ती जनाएका हुन ।

यसको जानकारी भने गाउपालिकाका वडा सदस्य एबम देउसाका स्थानिय तथा नेकपा नेता गोपाल घिमिरेले आफ्नो सामाजिक संजाल मार्फत गराएका थिए । उनले लेखेका छन “नेपाल कम्युनिष्ट पार्टी थुलुङ दुधकोशी गाउँ पालिका वडा नं ७ वडा कमिटीद्वारा आयोजित अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा शिक्षक लाल बहादुर राई, विदुमान राई,आङबाबु राई,टंक राई, ,प्रतिभा थुलुङ र टसी खालिङ लगायतले नेकपालाई रुचाएर पार्टी प्रवेश तथा सदस्यता ग्रहण गर्नु भएको छ । नव प्रवेशी कमरेडहरुलाई कार्यक्रमका प्रमुख अतिथि घनश्याम नेपाली , विशेष अतिथि नन्दराज गुरुङ, अशिम राई,रामसंघर्ष किराँती लगायतले स्वागत गर्नु भयो । कार्यक्रम वडा कमिटी अध्यक्ष चतुरमान तमाङको सभापतित्वमा भएको छ । सम्पुर्ण कमरेड हरुलाई हार्दिक स्वागत छ ।”

फेसबुकमा यो लेख सहित सार्वजनिक भ​एका केहि तस्बिरहरूलाई लिएर आलोचना चुलिएको हो । यसै लेख र तस्बिर सहित सोलुखुम्बुका एक युवा तथा नेपाली काङ्ग्रेसका सदस्य महेन्द्र बस्नेतले लेखेका छन “अरु स्थानीय तहका जनप्रतिनिधिहरु कसरी कोरोनाबाट आफ्ना नागरिकहरुलाइ बचाउन सकिन्छ भनेर अहोरात्र खटिरहेका छन ।सोलुखुम्बु जिल्ला थुलुङ दुधकोशी गा पा का जनप्रतिनिधिहरु मान्छेको हुल जम्मा गरेर विधालय पनि बन्दा भएको अवस्थामा शिक्षकहरुलाइ बोलाएर नेकपा पार्टी प्रबेश गराउनमा ब्यस्त छन । यसरी हुल जम्मा गरेर वडै पिच्छे कार्यक्रम गरेर हिड्दा कसैलाइ कोरोना सर्यो भन्ने जिम्मेवार को हुन्छ ? यि शिक्षक भनाउदाहरुको काम विधालयमा गएर बिधार्थी हरुलाइ असल शिक्षा दिने होकि कोरोनाको समयमा पनि पार्टी प्रबेश गर्दै हिड्ने हो ?राजनिती गर्न मन भए शिक्षक पेशा छोडेर खुल्ला मैदानमा आए भैहाल्योनी ।अनि गा पा अध्यक्ष लगायत जनप्रतिनिधिहरु आफै विधालयमा गएर पार्टीको सदस्यता बितरण गर्दै शिक्षक हरुलाइ पार्टीको कार्यकर्ता बनाउदै हिडेपछी त्यो ठाउँको शिक्षामा कस्तो किसिमको सुधार हुन्छ ? सोलुखुम्बु जिल्लाको सबैभन्दा बिकासप्रेमी जनप्रतिनिधि भएको गापा भनेर परिचित गा पा का जनप्रतिनिधिको यस्तो अवस्था छ भने अरु गा पा को के कुरा गर्नु ?”

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ११ : ०३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.