अनुज खड्का
भाद्र १८, सोलुखुम्बु
सोलुखुम्बुको सदरमुकाम सल्लेरी सिसिटिभिको निगरानीमा रहन थालेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सोलुदुधकुण्ड नगरपालिकाले १० वटा सिसिटिभि र आवस्यक उपकरण जडान गरिदिएको हो । जसको रिमोट भने प्रहरीको हातमा रहेको छ ।
फाप्लु जाने खोल्सा देखि शनिबारे हटियासम्म १० वटा सिसिटिभि जडान गरिएको छ । जसको नियमित निगरानी जिल्ला प्रहरी कार्यालय मार्फत भईरहेको जनाईएको छ । बजार क्षेत्रमा कुनै अपराधजन्य कार्य नहोस भनेर सिसिटिभि जडान गरिएको नगरपालिकाले जनाएको छ । यसले सल्लेरीलाई सुरक्षात्मक हिसाबले कन्ट्रोल गर्न सहज हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाजार क्षेत्रमा कुनै शङ्कास्पद वा शान्ती सुरक्षा बिपरितका गतिबिधि भएको खण्डमा कार्यालयबाटै त्यसलाई देख्न सकिने भएकाले प्रहरीलाई तुरुन्त एक्सनमा उत्रिन र घटनालाई नियन्त्रणमा लिन सिसिटिभिले मद्दत गर्ने प्रहरी प्रमुख डिएसपी टेकुनन्द ईवा लिम्बुले बताउनुभयो ।
यसैबिच सोलुखुम्बुका प्रदेश ख का सांसद बुद्दिकुमार राजभण्डारी र जिल्ला समन्वय समितिका प्रमुख बीर कुमार राईले सिसिटिभिबाट देखिने सल्लेरीको अबलोकन समेत गर्नुभएको छ । गतसाताबाट सल्लेरीमा सिसिटिभि संचालनमा आएको बताईएको छ ।