१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

एक्ला मेयर र अल्पमतको काङ्ग्रेसले हल्लाईदिन्छन सोलु, सत्तारुढ नेकपा र सांसद भने मुकदर्शक


१२ भाद्र २०७७, शुक्रबार  


 

अनुज खड्का
भाद्र १२, सोलुखुम्बु

सोलुखुम्बुमा पछिल्लो समय अनौठो राजनितिक घटनाक्रमहरू बिकसित हुदै गइरहेका छन । जिल्लाको हालको नेतृत्वको अवस्था हेर्दा नेकपा अत्याधिक बहुमतका साथ जिल्लाको नेतृत्वमा छ । तरपनि नेतृत्वका हिसाबले अल्पमतमा रहेको नेपाली काङ्ग्रेसले नै जिल्लामा राजकाज गरिरहेको जस्तो भान हुन थालेको छ । यसको मतलब नेपाली काङ्ग्रेस शक्तिशाली भन्ने चाहि होईन, बरु नेकपाको नेतृत्वहरू कमजोर भएको भने अवस्य नै हो ।
मानिस अपहरणको अभियोगमा पक्राउ परेका काङ्ग्रेस कार्यकर्ता शुभराम बस्नेत लगायतलाई धरौटीमा रिहा गराउने होस वा कार्यालय भित्रै नेकपाका निर्वाचित जनप्रतिनिधिमाथी हातपात भएको घटनालाई सामसुम पार्न नै किन नहोस, अझ बर्दिसहितका प्रहरी माथी मदिराको मातमा हातपात र कुटपिट गर्ने तरुण दलका सदस्यलाई बिनाशर्त रिहाई गर्ने कुरामा नै किन नहोस नेपाली काङ्ग्रेसले सोलुखुम्बुमा आफ्नो शक्ती प्रदर्शन गर्न छोडेको छैन । तर अत्याधिक बहुमत सहित नेतृत्वमा पुगेको नेकपा र तिनका जनप्रतिनिधिहरू भने केवल मुकदर्शक बनिरहेका छन ।
संघको एक र प्रदेशको २ निर्वाचन क्षेत्र सहित ८ स्थानिय तह रहेको सोलुखुम्बुमा वडालाई छाड्ने हो भने केवल एक नगरपालिकामा मात्र नेपाली काङ्ग्रेसले नेतृत्व गरिरहेको छ । त्यो हो सोलुदुधकुण्ड नगरपालिका । यहि नगरपालिका भित्र कार्यपालिकाको बैठक चलिरहदा उपमेयरमाथि कार्यपालिका सदस्यले हातपात गर्छिन, तर नेकपाले उक्त घटनामा केवल बिज्ञप्ती निकाल्छ अनि आपत्ती मात्रै जनाएर बसिरहन्छ । हुन त उक्त घटनाको मुद्दा दर्ता नभएको भने होईन, दर्ता त भयो तर दोषी उपर कुनै कार्वाहि गराउन नेकपा पुर्णरुपमा असक्षम रह्यो । यसले पनि काङ्ग्रेसको अराजक मनोबललाई ह्वात्तै बढाईदियो ।
सोलुदुधकुण्ड नगरपालिकाको प्रमुख पदमा असिन रहेका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले बिभिन्न समयमा जिल्लामा अनेकन राजनितिक तरङ्ग ल्याईदिन्छन । तर त्यसको डिफेन्समा भने नेकपाका निर्वाचित जनप्रतिनिधिहरू चुक्दै आएका छन । बि.सं २०७६ साल माघ ४ गतेका दिन नेकपालाई पहिलो पटक सबैभन्दा ठुलो झट्का दिएका मेयर त्यसपछी झनै हौसिएका देखिन्छन । उक्त दिन पहिलोपटक जिल्लामा राष्ट्रिय प्रसारण लाईनको बिधुत उद्घाटन गर्न गएका नेकपाका सांसद सहितको टोली माथी मेयर शेर्पाकै डिजाईनमा सांघातिक आक्रमण भएको थियो । आक्रमणमा नेकपाका युवाहरूको १६ मोटरसाईकल जलाएर खरानी बनाईएको थियो । त्यस्तै तिङ्लाकै स्थानिय टङ्क कार्कीको डबलक्याप बोलेरो गाडि पनि पुर्ण रुपमा क्षति भएको थियो । तर त्यत्रो ठुलो घटनाको कानुनी प्रकृया अझै अगाडी बढेको छैन । न त पिडितहरूले क्षतिपुर्ती नै पाएका छन ।
तङ्लामा घटेको उक्त घटनाले जिल्लामा दण्डहिनताको स्थितिलाई स्थापित गरिदिएको हो । त्यसपछी पनि नेपाली काङ्ग्रेसले आफ्ना कार्यकर्ता परिचालित गराएर पटक पटक जिल्लामा अराजक गतिबिधिलाई कायम राखिरह्यो । चाहे त्यो लिखुपिके गाउपालिकाका प्रमुख र उपप्रमुख माथी भएको दुर्ब्यबहारको घटना होस, चाहे नगरपालिकाकी उपमेयर कल्पना राई माथि भएको हातपात होस वा हालै मात्र ड्युटिमा रहेका प्रहरी माथी मदिरा सेवन गरेका तरुण दलका सदस्यहरूले बर्दिमै हातपात र कुटपिट गरेको घटना नै किन नहोस यी सबै घटनाहरू त्यसैको उदाहरण हुन ।
घटना घटाईसकेपछी आफ्ना कार्यकर्तालाई राजनितिक संरक्षण दिने कार्यमा काङ्ग्रेसले कुनै कसर बाकी राख्दैन । आन्दोलन गरेर होस वा धर्ना दिएर नै किन नहोस प्रशासनलाई कानुनी प्रकृया अगाडी बढाउन काङ्ग्रेसले अबरोध सिर्जना गर्दै आएको छ । सत्तारुढ दलको दर्बिलो उपस्थिति नभएका कारण प्रशासन पनि काङ्ग्रेसको अगाडी लाचार बन्ने गरेको महसुस हुन थालेको छ ।
मदिरा सेवन गरेर होहल्ला गरिरहेकाहरूलाई सम्झाउन पुगेका प्रहरी टोलीमाथि हातपात गरेपछी उक्त घटनाका कसुरदारलाई प्रहरीले पक्राउ गर्दछ । तर उनिहरू निर्दोष रहेको भन्दै नेपाली काङ्ग्रेसको सिङ्गो जत्था नै प्रशासनमा धर्ना दिएर नाराबाजी गर्दछन । तरपनि यो दण्डहिनताको बिरोध कहिकतैबाट हुदैन । यस्तोमा १० दिनको म्यादथप गरेर अनुशन्धानका क्रममा रहेका ब्यक्तीहरूलाई जनही ५।५ हजारको धरौटीमा रिहा गर्न प्रशासन बाध्य हुन्छ । यसले कानुन र कानुन पालकहरूको प्रतिष्ठामा कालो पोतिदिएको छ ।
मुलतः नेपाली काङ्ग्रेस सोलुखुम्बुमा २ कित्ता रहेका छन । यी दुई कित्ता बिच पानी बाराबरकै स्थिति पनि छ । तर जिल्लामा अराजकतालाई मुर्तरुप दिने कार्यमा भने दुबै पक्षका कार्यकर्ता एक हुने गर्छन । तर यी दुई खेमाका मुखिया अर्थात पुर्बमन्त्री बलबहादुर केसी र पुर्व पार्टि सभापती आङ्गेलु शेर्पा भने एकअर्कासङ्ग सधै जुङ्गाकै लडाईमा ब्यस्त देखिन्छन ।
एक्कैछिन तिङ्ला घटना तर्फ फर्किउ । उक्त घटनाका दोषी बिरुद्द किटानी जाहेरी छ । मुद्दा दर्ता समेत भएको छ । दोषीहरू खुलेआम प्रशासनलाई अझैपनि अर्को घटनाको चुनैती दिदै हिडिरहेका छन । तरपनि तिनको कठालो समातेर ठेगान लगाउन प्रहरी प्रशासनले मुटु कमाईरहेको छ । यसको पछाडीको कारणहरू खोज्ने हो भने पिडित पक्षको नेतृत्वमा समस्या स्पष्ट देख्न सकिन्छ । भनाईद्को तात्पर्य यहि हो कि सत्तारुढ दल नेकपाको जिल्लस्थित नेतृत्वहरूले आफ्ना युवाका बिरुद्द भएको उक्त आक्रमण प्रति गम्भिरता दर्शाएको छैन । यसले पनि प्रहरीलाई दोषीको कठालो समातिहाल्ने आट आउन सकेको छैन । किनभने प्रशासन यो अन्योलमा छ कि भोली यो राजनितिक घटनामा कुनै कदम चाल्दा जिल्लाका राजनितिक दलबाट के कस्तो सहयोग मिल्छ वा दबाब आउन सक्छ । बिचरा ! प्रशासनपनि यतिखेर टुहुरो जस्तो भएको छ ।
यदि भोली प्रहरी प्रशासनले घटनाका दोषीहरूलाइ पक्राउ गरेको खण्डमा नेपाली काङ्ग्रेसले उग्र आन्दोलन गर्छ भन्ने प्रशासनलाई थाहा छ । तर उक्त परिस्थितिमा नेकपाले डिफेन्स लिन सक्छ कि सक्दैन भन्ने कुरामा प्रशासन अलमलिएको हो । किनभने जिल्लामा हालसम्म भएका घटनाहरूमा नेकपाको सार्थक वा निरर्थक उपस्थिति शुन्य बराबर छ ।
हुन त प्रशासन र कानुन राजनितिक दलहरू भन्दा छुट्टै बिषय हो । तरपनि राजनितिक घटनामा हुने जनदबाबका कारण प्रशासन लाचार बन्न पुग्दा, राजनितिक दलहरूको सार्थक सहयोगको ठुलो महत्व रहन्छ । अझ दुई दलबिचको बिबादित बिषयमा तुरुन्तै कदम चालिहाल्न प्रशासनले पनि सक्दैन । सोलुखुम्बुमा पनि अहिले यहि स्थिति छ ।
तिङ्ला घटनाले जन्माएको अर्को एउटा प्रश्न यो पनि हो कि, नेकपाभित्र युवाहरूको सुरक्षा खै त ? करोडौको सम्पती क्षति भएको बर्षदिन पुगिसक्दा पनि नेकपाले आफ्ना युवा कार्यकर्तालाई क्षतिपुर्ती दिने वा दिलाउलने कार्यमा किन चासो नदिएको ? यदि उक्त घटनामा कुनै युवाको जीवनको क्षति भएको भए के हुन्थ्यो त ? यस्ता कैयन प्रश्नले नेकपाको कमजोरीलाई उदाङ्गो बनाईरहदा पनि नेकपा ब्युझने छाटकाटमा छैन । कठ्ठै ! दुई तिहाईको निन्द्रा ।
सत्तामा दुई तिहाईको नेकपा सरकार, सोलुखुम्बु जिल्लामा संघिय सांसदमा नेकपा, प्रदेशको दुबै निर्वाचन क्षेत्रमा नेकपाका सांसद, जिल्लाका ८ मध्य ७ स्थानिय तहमा बहुमत सहित नेकपा, ५२ वडा मध्य अधिकांश वडामा नेकपा, जिल्ला समन्वय समितिमा पनि नेकपा, तर यहि नेकपालाई एउटा स्थानिय तहका प्रमुखले नै तोरीको फूल देखाईदिएका छन । यसको अर्थ उनी शक्तिशाली हुदै होईनन, न त अरुभन्दा ज्यादा जनपक्षिय नै हुन । उनको अराजनितिक दाउपेचलाई नेकपाले बुझ्न र जवाफ फर्काउन नसकेको मात्रै हो ।
नगरप्रमुख शेर्पाका गतिबिधिहरूलाई नेकपाले सुरुवाती चरणमा नै गतिलो जवाफ दिन सकेको भए आज जिल्लामा दण्डहिनताले पक्कै स्थान ओगट्ने थिएन । अहिले त के नजिर बसिसकेको छ भने केहिथान उत्तेजित भिड जम्मा गरेर जिल्लामा काङ्ग्रेसले जे गरेपनि हुदो रहेछ । चाहे त्यो मोटरसाईकल पोल्न होस, निर्वाचित जनप्रतिनिधिमाथि कार्यकक्षमै आक्रमण गर्न होस वा कुनै अभियोगमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई अनुशन्धान बिना नै रिहा गराउन प्रशासन घेर्न नै किन नहोस । यो नजिरले पक्कैपनि जिल्लाको भलो हुदैन । यसतर्फ सम्बन्धित पक्षहरू समयमै सचेत हुन अत्यावस्यक रहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ११ : ५१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.