नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्स मंगलबार रित्तै फर्कियो । स्वदेश र्फकनका लागि विमानस्थलमा आइपुगेका १०० भन्दा बढी नेपाली अलपत्र परे । त्यसै दिन सरकारले टर्कीको इस्तानबुलसम्म युरोप र अमेरिकाबाट आएका २०१ यात्रुलाई टर्किस एयरलाइन्सबाट नेपाल आउन दियो ।
त्यसलगत्तै दुबईमा प्रवासी नेपालीको समाजिक सञ्जालका ग्रुपतिर सन्देश फैलियो, ‘सरकारले नेपाली कामदारको उद्धारमा चरम बेवास्ता गर्यो, अब सरकारलाई असहयोग गरौं, रेमिट्यान्सबाट हैन, हुन्डीमार्फत पैसा पठाऔं ।’
सरकारले सोमबार नै होटल क्वारेन्टिनको व्यवस्था नभएको भन्दै विदेशबाट भइरहेको चार्टर्ड उडान रोकेलगत्तै यस्ता सन्देशहरु छिटपुटरुपमा फैलिन थालेको थियो । सोही दिनदेखि दिनमा २ सय जना श्रमिकलाई सरकारी खर्चमा उद्धार गर्न सुरु गर्ने भनिएको थियो ।
मंगलबार दुबईमा पुगेको विमान पनि खाली फर्किएपछि भने ‘हुन्डी गरौं’ भन्ने अभियानमा श्रमिकहरुको समर्थन बढ्दै गएको छ । श्रमिकलाई आएका सन्देशहरुमा मनी ट्रान्फरमार्फत पठाउँदा भन्दा ३/४ रुपैयाँ बढी पैसा आफन्तको हातमै पुग्ने उल्लेख छ ।
यो सन्देश दुबईमा बस्ने नेपालीमाझ डढेलोजस्तै फैलिएको छ । अहिले दुबईमा रहेका धेरै नेपालीले सामाजिक सञ्जालमा खुलारुपमै हुन्डीमार्फत पैसा पठाउन आग्रह गरिरहेका छन् ।
सरकारविरुद्धको रोष
हुन्डीमार्फत पैसाको कारोबार गर्नु अवैधानिक हुन्छ । सरकारले लामो समयदेखि हुन्डीको प्रयोगलाई कम गर्न भनेर मनी ट्रान्सफर सेवालाई बढावा दिँदै आएको छ । विगतमा भन्दा हुन्डीको प्रयोग कम हुँदै गएको पनि छ ।
तर, सरकारले विदशेमा अलपत्र नेपाली कामदारको उद्धारलाई बेवास्ता गरेपछि विदेशमा रहने नेपालीमाझ हुन्डी प्रवर्द्धन हुने जोखिम बढेको छ । दुबईमा ‘हुन्डीमार्फत पैसा पठाएर सरकारलाई असहयोग गर्ने’ बहकाउ अभियान छेडिएको छ ।
यो स्वतःस्फुर्तरुपमा अघि बढेको हो वा हुन्डीका कारोबारीले श्रमिकलाई बहकाएर लाभ लिन खोजेको हो भन्ने स्पष्ट नभएको यूएईमा कार्यरत श्रमिकले बताए ।