सुर्खेत । कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि कर्णाली प्रदेश सरकारले प्रदेश प्रवेशमा कडाइ गरेको छ । प्रदेशमा कोरोना संक्रमण समुदायमा फैलिने सम्भावन देखिएपछि प्रवेशमा कडाई गरेको हो ।
आजबाट प्रदेश प्रवेश गर्नेका लागि केही नयाँ नियमहरु पनि प्रदेश सरकारले बनाएको छ । साउन ३० गते बसेको प्रदेश संकट व्यवस्थापन केन्द्र (पिसीएमसी) ले आजबाट लागु हुनेगरी केही नयाँ नियम सार्वजनिक गरेको छ ।
प्रदेश सरकारले कर्णाली प्रवेश गर्नै पर्ने भए कोरोना परीक्षण गरेको पीसीआर नेगेटिभ रिर्पोट तीन दिन अघिको अनिवार्य देखाउनु पर्ने नियम बनाएको छ । यसका साथै प्रदेश प्रवेश गर्ने नाकामा पनि कडाई गरिएको बताइएको छ ।
त्यस्तै प्रदेश सरकारले रातिको समय प्रदेश प्रवेश गर्न पूर्ण रुपमा रोक लगाइएको छ भने, भारतबाट आएका व्यक्तिहरुलाई ७ दिन क्वारिन्टिन राखेर पीसीआर परीक्षणपछि मात्रै घर पठाउने व्यवास्था गरेको छ ।
पछिल्लो समय लकडाउन खुलेपछि, बजार, पसल, होटेल रेष्टुरेन्ट र उद्योगहरु खुलेका कारण समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ । यो सबै रोक्नका लागि विरेन्द्रनगरमा निषेधाज्ञा गर्नुका साथै सबै अन्य ठाउँ पनि बन्द गरिएका छन् ।