३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

ओली मन्त्रिमण्डलमा को- को नयां मन्त्री बन्दै ?



 

काठमाडौं । सत्तारुढ नेकपा भित्रको विवाद साम्य गर्न प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल नै फेरबदल गर्ने तयारी गरेका छन् । उत्पन्न विवाद सुल्झ्याउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन भएसंगै ओलीले केहि मन्त्रीहरु हटाउने र नयां ल्याउने तयारी भइरहेको बताइएको छ ।

ओली नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको भन्दै पार्टीभित्रै आलोचना भएपछि ओलीले मन्त्रिमण्डल फेरबदल गर्ने तयारी गर्न लागेका हुन् । नेकपाको विवाद समाधान गर्न अध्यक्षद्वय ओली र प्रचण्डले शुक्रबार महासचिव पौडेलको संयोजकत्वमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुषाल र सुरेन्द्र पाण्डे सदस्य रहेको गरी ६ सदस्यीय कार्यदल गठन गरेका थियो ।

उक्त कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएलगत्तै सोही प्रतिवेदनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने ओलीको तयारी रहेको बताइन्छ । कार्यदलले पार्टीको आन्तरीक विवाद साम्य पार्ने र पार्टी एकतालाई थप मजबुत बनाउने गरी प्रस्ताव तयार गर्ने जिम्मेवारी पाएको छ । कार्यदलका एक सदस्य निकट स्रोतका अनुसार दुईदिन भित्रमा प्रतिवेदन अध्यक्षद्वलाई बुझाइनेछ ।

कुन- कुन मन्त्री हट्दै ?
ओली नेतृत्वको बहुमत कम्युनिष्ट सरकारले जनताको म्यानडेडअनुसार काम गर्न नसकेको स्वयम नेकपाभित्रका नेता तथा कार्यकर्ताहरु बताउँदै आएका छन् । जनताको पनि सरकारप्रति निरासा बढ्दै गइरहेको छ ।

ओली सरकारले विभिन्न सपना मात्रै बाँडेको तर जनताका समस्याहरु संवोधन हुनेगरी काम नगरेको आरोपहरु छन् । साथै सरकार विभिन्न काण्ड र भ्रष्टाचारहरुमा मुछिएको भन्दै जनस्तरबाट ओली सरकारको चर्को विरोध हुँदै आएको छ । सरकारका कतिपय मन्त्रालयहरुबाट परिणाममुखी काम हुन नसकेको भन्दै पार्टी भित्रैबाट आलोचना हुँदै आएको छ ।

चर्चा भएअनुसार ओली सरकारको मन्त्रिमण्डल हेरफेर हुँदा हालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई, कृषीमन्त्री घनश्याम भुषाल, उर्जामन्त्री वर्षमान पुन, बनमन्त्री शक्ति बस्नेत यथावत रहनेछन् । भने अन्य मन्त्रालय हेरफेर हुन सक्ने बताइन्छ ।
नयां मन्त्रीहरुमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेल लगायतलाई मौका दिने गरी अध्यक्षद्वय ओली र प्रचण्डबीच लगभग सहमति भएको बताइन्छ ।

केन्द्र सरकारमा पार्टीभित्रको शक्ति सन्तुलन कायम भएपछि केहि प्रदेश सरकार प्रमुखहरु पनि फेरिने हल्ला छ । पार्टीभित्र चर्चा भएअनुसार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र ५ का शंकर पोखरेलको ठाउँमा नयाँ मुख्यमन्त्री बनाइनेछ ।

यसअघि नेकपाको पटक पटक बसेको सचिवालय र स्थायी समिति बैठकमा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीना मागिएको थियो । उक्त मागलाई ओलीले अस्विकार गरेपछि विवाद चर्चिएको थियो । पार्टी नै फुटको संघारमा पुगेको भन्दै बाहिर हल्ला समेत भएका थिए ।

नेताहरुमा आ-आफ्ना गुटगत बैठक र सार्वजनिक रुपमा आउने अभिब्यक्तिले समेत नेकपा फुट्ने संकेत दिएको थियो । तर, पछिल्लो ओली -प्रचण्ड भेटवार्ताले तत्कालका लागि नेकपाभित्रको पहिरो रोकिएको कतिपयको विश्लेषण छ ।

ओलीको एउटा पद जान सक्ने
नेकपामा पहिलेदेखि नै एक ब्यक्ति एक जिम्मेवारीको कुरा उठ्दै आएको छ । त्यहि भएर ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै नछाड्ने भए एक पद छाड्न पछिल्लो पटक स्थायी समिति सदस्यहरुले भनिरहेका छन् ।
नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उठाउँदै गरेको एक पद एक जिम्मेवारीलाई पनि अध्यक्षद्वयले गठन गरेको कार्यदलले आफ्नो प्रतिवेदनमा समेट्ने बताइएको छ ।

पार्टीको कुनै पनि नेता दोहोरो जिम्मेवारी नरहनेगरी प्रस्ताव आयो भने अध्यक्ष ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एउटा पद छाड्नु पर्नेछ ।
ओली र प्रचण्डबीचको विवाद पनि शक्ति वाँडफाँड नै भएकाले ओलीले एउटा पद छाड्दा विवाद पनि साम्य हुने देखिन्छ ।

दुई अध्यक्षबीच पछिल्लो सहमतीअनुसार ओलीले सरकार चलाउने र पुर्णअधिकार सहित प्रचण्डले पार्टी संचालन गर्नेछन् । उक्त प्रस्ताव गठित कार्यदलले समेत ल्याउने बताइन्छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ५ : २४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.