खोटाङ । सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ गएका ६ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट साउन २३ गते सरुवा भएर खोटाङ गएका ११ प्रहरीमध्ये ६ जनामा कोरोना पुष्टि भएको हो ।
साउन २९ गते १३ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएकोमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए । संक्रमित हुने प्रहरी जवानहरु २० देखि २५ बर्ष उमेर समुहका पुरुष रहेका छन् ।
संक्रमित सबैलाई जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखेर उपचार गर्ने तयारी भइरहेको चिमरियाले बताए । सरुवा भएर खोटाङ आएका अन्य ५ जना प्रहरी जवानलाई क्वारेन्टिनमा राखिएको छ । योसंगै जिल्लामा संक्रमित हुनेको संख्या १९ पुगेको छ ।