सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदी गाँउमा पहिरो जाँदा मृत्यु भएका १६ जनाको सनाखत भएको छ ।
शुक्रबार भेटिएका ११ र शनिवार भेटिएका ५ शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
मृत्यु हुनेमा ९ बालबालिका, ४ महिला र ३ पुरुष रहेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा स्थानिय ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानू दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ, ४ महिनाका रेिमश दोङ, १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीया मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ र ७ महिनाका कबिर दोङ रहेका छन् ।
उनीहरुको शनिवार बौद्ध परम्पराअनुसार सामूहिक अन्येष्टि गरिएको वडा अध्यक्ष प्रताप लामाले जानकारी दिए । शुक्रबार बिहान करिब ६ बजे आएको पहिरोले गाउँ नै पुरेपछि अहिलेसम्म १६ जनाको ज्यान गएको छ अन्य २३ जना वेपत्ता छन् । वेपत्ताहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।