सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । शुक्रबार बिहान जिल्लाको जुगल गाउँपालिकाको वडा २ लिदी गाउँमा गएको पहिरोमा पुरिएका थप ५ वटा शव शनिवार भेटिएपछि मृत्यु हुनेको संख्या १६ पुगेको हो ।
शनिवार भेटिएका थप ५ वटा शवको सनाखत भइनसकेको वडा २ का अध्यक्ष प्रताप लामाले अनमोलपोस्टलाई जानकारी दिए । हिजो पहिरोमा पुरिएका ११ वटा शव निकालिएको थियो । ति ११ वटै शवको खनाखत भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा लिदी लामागाउँकी ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ८ वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ र ४ महिनाका रेमिश दोङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
पहिरोमा अझै हराइरहेका २३ जनालाई जिल्लाबाट खटिगएको नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले गरेलु उपकरणको साहेताले खोजी गरिरहेको डीएसपी काफ्लेले बताए ।
पहिरोले सडक भत्किाएका कारण एक्स्काभेटर लैजान नसक्दा खोजी कार्यमा ढिलाई भइरहेको उनको भनाई छ ।
घटनापछि हिजै सभामुख अग्नीप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापा बादल घटनास्थल पुगेका थिए । घटनाबारे सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले दुख ब्यवक्त गर्दै उद्धार कार्यमा जुट्न सबैलाई आग्रह गरेका थिए ।