सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएका थप ६ जनाको शव भेटिएको छ । योसंगै अहिलेसम्म ११ जनाको शव भेटिएको वडा नम्बर २ का अध्यक्ष प्रताप लामाले अनमोलपोस्टलाई जानकारी दिए । यसअघि ५ जनाको शव भेटिएको थियो ।
शव भेटिएका ११ मध्ये २ महिला, ५ बच्चा, र ४ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले अनमोलपोस्टलाई जानकारी दिए । शवको पहिचान खुल्न बाँकी छ ।
शुक्रबार बिहान गएको पहिरोमा १३ भन्दा बढी घर पुरिएका छन् भने ३५ जना वेपत्ता रहेको प्रहरीले जनाएको छ । उद्धार गरिएको पाँच जना घाइते मध्ये ४ जनाको सदरमुकाम चौतरा र एक जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
घटनास्थलमा अहिले गृहमन्त्री रामबहादुर थापा बादल राहात सामाग्री लिएर पुगेका छन् । उनले पहिरो पीडितलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडा लगायतका राहात सामाग्री वितरण गरेको अध्यक्ष लामाले बताए ।