काठमाडौं । लकडाउन खुलेपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि उपत्यकाका विभिन्न क्षेत्र भटाभट सिल गरिदैछ ।
बिहीबार मात्रै काठमाडौं महानगरपालिकाका विभिन्न वडाहरुमा संक्रमितहरु पाइएपछि केहि क्षेत्रलाई सिल गरिएको छ । महानगरपालिकाको वडा नम्बर १४ का विभिन्न टोलमा बुधबार र बिहीबार गरी ३९ जनामा संक्रमण पुष्टि भएको छ ।
बुधबार २९ र बिहीबार थप १० जनामा कोरोना देखिएपछि ति क्षेत्रलाई सिल गरिएको वडा कार्यालयले जनाएको छ । उक्त वडाको कुलेश्वर क्षेत्रमा फलफूल व्यवसाय गर्ने, बल्खु ,लाम्पाटी लगायतका क्षेत्रमा कोरोना संक्रमित भेटिएका छन् ।
कोरोना देखिएका क्षेत्रमा सिल गर्न सुरू गरिएको वडाले जनाएको छ ।
कोरोनाबाट बच्नका लागि आज बिहान वडाभित्रका सबै टोलमा पुगेर स्थानियहरुलाई घरभित्रै रहन, मास्क लगाउन, भौतिक दूरी कायम गर्न लगायतका स्वस्थ्य सुरक्षाका मापदण्ड अपनाउन माइकिङ गरिएको थियो ।
यसअघि कोटेश्वर क्षेत्र पनि सिल गरिएको थियो ।
विज्ञहरुका अनुसार कोरोनाबाट बच्ने उपायहरुमा मानिसहरुबाट लापरवाही भएकाले संक्रमितको संख्या बढ्दै गइरहेको छ । उपत्यकामा कोरोना समुदायस्तरमा सर्ने चिन्ता पनि विज्ञहरुले ब्यक्त गरिरहेका छन् ।
नेपालमा आजसम्मको अपडेटअनुसार कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ भने ९५ जनाको मृत्यु भइसकेको छ । कोरोना निको भएर हालसम्म १६ हजार ८३७ अस्पतालबाट घर फर्केका छन् ।